काठमाडौं, १६ असार २०७८ । जातीय विभेद गरेको आरोपमा थुनामा रहेकी महिलालाई प्रहरी कार्यालयबाट आफ्नै गाडीमा राखेर घर पुर्याउने शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले मानव अधिकार आयोगसमक्ष आइन्दा यस्तो गल्ती नगर्ने प्रतिबद्धता जनाएका छन्।
मंगलबार आयोगले मन्त्री श्रेष्ठलाई आयोगको कार्यालयमा बोलाएर सो प्रकरणबारे छलफल गरेको थियो । छलफलमा मन्त्री श्रेष्ठले गल्ती गरेको महसुस भएको र आइन्दा यस्तो गल्ती नगर्ने बताएका हुन् । आयोगले यसबारे प्रेस विज्ञप्ति जारी गर्ने तयारी गरिरहेको छ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले श्रेष्ठलाई सचेत गराएका थिए । आवेशमा आएर यस्तो काम नगर्न ओलीले सचेत गराएका थिए ।
असार १ गते सञ्चारकर्मी रूपा सुनारलाई काठमाडौं बबरमहलकी सरस्वती प्रधानले सुरुमा आफ्नो घरको कोठा दिने सहमति गरिसकेर अन्त्यमा जात थाहा पाउनासाथ बहिष्कार गरेकी थिइन्। यसविरुद्ध सुनारले प्रहरीमा उजुरी दिएकी थिइन्।








































