काठमाडौं, १६ असार २०७८ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको पछिल्लो अवस्थाबारे अध्ययन गर्न सरकारले ‘सेरो प्रिभिलेन्स सर्भे’ गर्ने भएको छ ।
सर्भेका लागि प्रक्रिया सुरु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार अहिले अभिमुखीकरण तालिम चलिरहेको छ । ‘तीन दिनपछि सर्भे प्राविधिकहरु फिल्डमा खटिन्छन् ।’, उनले भने । ‘सेरो प्रिभिलेन्स सर्भे’का क्रममा देशभरका ७७ जिल्लामै पुगेर १३ हजार नमुना संकलन गरिने उनको भनाई छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र केन्द्रीय तथ्यांक विभागको सहभागिता रहने सर्वेक्षणको नेतृत्व मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गर्ने बताइएको छ । प्राविधिक एवं आर्थिक सहयोग भने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले गर्नेछ ।








































