काठमाडौं, १६ असार २०७८ । सर्वोच्च अदालतले नेकपा माओवादीले पदमुक्त गराएका दुई मेयरलाई पनुरवहाली गर्न अन्तरिम आदेश दिएको छ ।
रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।
मंगलबार न्यायाधीश कुमार चुँडालको एकल इजलासले साह र कुशवाहको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै निवेदकले नेकपा माओवादी केन्द्र छाडेर अर्को दल गठन गरेको वा अर्को दलमा प्रवेश गरेको यकिन हुन नसकेको भन्दै मेयर पदमा पुनर्वहाली गरिदिएको हो ।








































