एजेन्सी, सोमबार, १४ असार २०७८ । साविक विजेता पोर्चुगललाई पराजित गर्दै फिफा विश्व नम्बर एक बेल्जियम १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
स्पेनमा आइतबार राति भएको प्रि-क्वाटरफाइनलमा साविक विजेता पोर्चुगललाई १-० गोल अन्तरले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो ।
सेभियामा बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्डले निर्णायक गोल गरे । उनले खेलको ४२ औं मिनेटमा हाजार्डले बेल्जियमका लागि निर्णायक गोल गरेका हुन् । थोमस मुनिएरको पासमा उनले बक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।
दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेपनि पोर्चुगलले खेलमा फर्कन सकेन । पहिलो हाफमा पनि केहि अवसर सिर्जना गरेको पोर्चुगलसामु बेल्जियमको डिफेन्स तगारो बन्यो।
यससँगै बेल्जियम क्वाटरफाइनलमा पुग्ने चौंथो टिम बनेको छ । पोर्चुगल भने अन्तिम १६ बाटै बाहिरिएको छ । अब बेल्जियमले क्वाटरफाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । अष्ट्रियालाई अतिरिक्त समयमा २-१ ले हराउँदै इटालीले अन्तिम आठको यात्रा पक्का गरिसकेको छ ।
बेल्जियम समूह चरणमा समूह ‘बी’ को विजेता बन्दै नक-आउट चरणमा पुगेको थियो । फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमले ३ खेलमा ९ अंक जोडेको थियो ।









































