काठमाडौँ, १३ असार २०७८ । कोभिड–१९ सङ्क्रमणका कारण यही असार १५ गते मुलुकभर साङ्केतिक रूपमा १८ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७८ मनाइने भएको छ । सकेसम्म सरकारी फार्म भित्रै सिमित गरेर दिवस मनाइने तयारी गरिएको छ ।
जिल्लास्तरका कार्यक्रमसमेत सरकारी फार्ममा मनाउन निर्देशन गरिएको कृषि विभागले जनाएको छ । ‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ मनाउन लागिएको यसपटकको दिवसमा सांस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक (हिलो छ्याप्ने) कार्यक्रम गरिने छैन ।
“यसपाली महोत्सव कै लागि मापदण्ड तय गरिएको छ”, विभागका निमित्त महानिर्देशक जानुका पण्डितले भने, “सकेसम्म मानिस कम सहभागि गराएर धान दिवस मनाइन्छ ।” केन्द्रीयस्तरमा भने यसपाली कृषि अनुसन्धान परिषद्को खुमलटारस्थित फार्ममा मनाइने उनले जानकारी दिए । धान दिवसको महत्व जोगाउन, प्रचारप्रसार तथा परम्परालाई निरन्तरता दिन आवश्यक स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी दिवस मनाइने कृषि विभागले जनाएको छ ।








































