वासिङ्टन डिसी, सोमबार, ३१ जेठ २०७८ । नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशका रूपमा सूचीकृत हुने मापदण्ड पूरा गरेको छ । यससम्बन्धी अन्तिम प्रस्ताव संयुक्त राष्ट्रसङ्घको आगामी महासभाबाट पारित गर्ने तयारी रहेको छ ।
न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी नियोग प्रमुख अमृत राईका अनुसार संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को हालै न्यूयोर्कमा सम्पन्न बैठकले समेत नेपाललाई कम आय भएको मुलुकबाट मध्यमस्तरको आय भएको मुलुकका रूपमा स्तरोन्नति गर्न नेपाल सक्षम भएको सिफारिस गर्दै आगामी महासभामा अनुमोदनका लागि पेश गर्न लागेको छ ।
उक्त प्रस्ताव अनुमोदन गर्नका लागि राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्ले आगामी महासभामा पेश गर्न सैद्धान्तिक सहमतिसमेत प्रदान गरिसकेको छ । यस पटकको राष्ट्रसङ्घको महासभा सेप्टेम्बर महिनामा बस्दैछ ।








































