काठमाडौं, शनिबार, २९ जेठ २०७८ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बागमती प्रदेशसभा बैठकमा कांग्रेस सांसदले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । शुक्रबार बागमती प्रदेशसभा बैठकमा कांग्रेस सांसद नरोत्तम वैद्यले आफू प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए ।
वैद्यलाई आफ्नो शब्द फिर्ता लिई आत्मालोचना गर्न प्रवक्ता शर्माले निर्देशन दिएका छन् । तर्कले आपत्तिजनक शब्द छोप्ने पार्टीको परम्परा नरहेको उनको भनाइ छ।
बाग्मती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल क्रममा शुक्रबार भाग लिँदै कांग्रेस सांसद नरोत्तम वैद्यले ओलीको हत्याका लागि आफू नाथुराम गोड्से बन्न तयार रहेको बताएका थिए ।
‘सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न ! आवेगको बोलि र ब्यवहार ‘भावनात्मक उत्तेजना’ भनेर उन्मुक्ति हुन्न । शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ । तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन ! अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन’ शर्माले भने ।
गोड्से ती व्यक्ति हुन्, जसले महात्मा गान्धीलाई गोली हानेर हत्या गरेका थिए।









































