काठमाडौं, शुक्रबार, २८ जेठ २०७८ । अस्पतालहरुको बदमासी बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एक्शनमा उत्रिएको छ ।
स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले मन्त्रालयमा आएको उजुरीको आधारमा लिनुभएको निर्णयअनुसार मन्त्रालयले अव सम्झौता गरेका अस्पतालले संक्रमितसँग शुल्क लिए सिधै दर्ता खारेज हुने प्रष्ट पारेको हो । मन्त्रालयले कोभिड १९ संक्रमितले अस्पतालबाट पाउने उपचार लगायत सेवाको विवरण पनि सार्वजनिक गरेको छ ।
सम्झौता गरिएका कतिपय अस्पतालले संक्रमितको उपचारमा शुल्क लिएको पाइएकाले निःशुल्क उपचारसहित बिरामीले पाउने सेवाबारे मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी दिएको हो । ८३ वटा सरकारी, निजी, सामुदायिक र सहकारी अस्पतालसँग कोभिड संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको उल्लेख गर्दै मन्त्रालयले कोभिड उपचार सेवा सम्झौता गरेका निजी अस्पतालले संक्रमितबाट शुल्क लिएको पाइए कारबाही गर्ने बताएको छ ।









































