काठमाडौं, शुक्रबार, २१ जेठ २०७८ । काठमाडौँ महानगरपालिकाले छत्रपाटी निःशुल्क चिकित्सालयलाई थप दुई थान भेन्टिलेटर सहयोग गरेको छ ।
नगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले अस्पतालका निर्देशक डा. मनोजमान श्रेष्ठलाई उक्त उपकरण हस्तान्तरण गर्नुभएको हो ।
यसअघि यही जेठ ८ गते महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना भएको ल्हासाबाट प्राप्त भएका दुई थान भेन्टिलेटर पनि उक्त अस्पताललाई दिएको थियो ।
हाल यस अस्पतालमा कामपाको सहयोगमा ३५ शय्याको विशेष कोभिड अस्पताल सञ्चालन भइसकेको छ । आज हस्तान्तरण गरिएका भेन्टिलेटर महानगरपालिकाले खरिद गरेको हो । उपकरणको मूल्य प्रतिगोटा २६ लाख ५० हजार रहेको बताइएको छ ।








































