काठमाडौं, मंगलबार, ११ जेठ २०७८ । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले एक हप्ताको लागि पुग्ने खाद्यान्न किनेर राख्न अनुरोध गरेको छ ।
मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीबीच बसेको बैठकले एक हप्ता नि’षेधाज्ञा थपेर किराना पसल तथा डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णय गरेसँगै सो आग्रह गरेको हो ।
दिनदिनै मानिसहरूले दाल चामल किन्न जाने भनेर भीडभाड गरेको हुँदा एक हप्ता किराना तथा डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णय गरेको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।
निषेधाज्ञा समयमा सागसब्जी, माछामासु, दूधलगायत बिहान ९ बजेसम्म बेच्न अनुमति दिइएको छ। तर, त्यसपछि तरकारी पसल पनि खोल्न नपाइने गरी प्रशासनले कडा पारेको हो।
यस्तै, बैठकले काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।









































