काठमाडौँ, शुक्रबार, २४ बैशाख २०७८ । चीनले नेपाललाई सहयोग स्वरुप दिने अक्सिजन सिलिन्डर नेपाल ल्याउन समस्या देखिएको छ ।
विशेषगरी सिलिन्डर ओसार्न ठूला र धेरै तौल भएका सामान ओसार्ने कार्गो जहाजको आवश्यकता पर्ने भएकाले ढुवानीमा समस्या देखिएको हो । नेपालकै जहाज पठाएर खेप/खेपमा सिलिन्डर ल्याउने या चीनकै कार्गो जहाजलाई भाडा तिरेर एकै पटकमा अलि धेरै सिलिन्डर ल्याउने भन्ने विषय टुङ्गो लागेको छैन ।
चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर सहयोग गर्ने भनेकोमा पहिलो चरणमा तीन हजार पाँच सय थान सिलिन्डर दिने पक्का भइसकेको छ । तर यी सिलिन्डर नेपालमा ल्याउन समस्या भएको छ ।
‘हामीले सिलिन्डर सहयोगको विषय टुङ्ग्याउने हो, जहाजको विषयमा स्वास्थ्य मन्त्रालयले पर्यटन मन्त्रालयसँग समन्वय गरेर कुरा मिलाउँछ, उहाँहरुले तयारी गर्दै हुनुहुन्छ होला, सायद याे हप्ताभित्र अक्सिजन सिलिन्डर आइपुग्ला’ मन्त्री ज्ञवालीले उज्यालोसँग भन्नुभयो । तर स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले सिलिन्डर ल्याउने सबै चाँजोपाँजो मिलाउने मन्त्रालय परराष्ट्र मन्त्रालय नै भएको जानकारी दिनुभयो ।
यस विषयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग कुरा गर्दा सिलिन्डर बोक्ने जहाजको विषयमा स्वास्थ्य र पर्यटन मन्त्रालयले निर्णय गर्ने जानकारी दिनुभयो ।
‘यो विषयमा मलाई भन्दा धेरै परराष्ट्र मन्त्रालयलाई नै थाहा छ, हामीले यहाँको अवस्था बताइसकेका छौँ, स्वास्थ्यले जहाजको विषयमा कुरा गर्दैन, यो परराष्ट्र या पर्यटन मन्त्रालयले नै गर्ने कुरा हो’ मन्त्री त्रिपाठीले भन्नुभयो ।
नेपाली जहाज भन्दा चिनियाँ कार्गो जहाजबाट सिलिन्डर ल्याउँदा सस्तो पर्ने भएकाले उतैबाट जहाज ल्याउने विषयमा कुरा भइरहेको सङ्केत आफूले पाएको स्वास्थ्यमन्त्री त्रिपाठीको भनाइ छ ।
यसै विषयमा संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालसँग कुरा गर्दा उहाँले आफू कोरोना सङ्क्रमण भएर आराम गरिरहेकाले जानकार नभएको प्रतिक्रिया दिनुभयो ।








































