काठमाडौँ, १० बैशाख २०७८ । उपत्यकाका मुख्य अस्पतालहरुमा कोरोनाका बिरामी उपचारका लागि व्यवस्था गरिएका आइसियू र शय्या भरिएका छन् । शय्या भरिएपछि अस्पतालहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अन्यत्र रेफर गर्नुपरेको जनाएका छन् ।
दोस्रो लहरको कोरोना संक्रमणपछि पनि मानिसले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको, भीडभाड हुने कार्यक्रम जारी राखेकाले संक्रमण तीव्र रुपमा फैलिरहेको उनीहरुले औँल्याएका छन् । सरकारले उपचारका लागि शय्या विस्तार गरे पनि जनशक्ति व्यवस्थापनमा चुनौति हुने स्थिति रहेको वीर अस्पतालका चिकित्सक डा. अच्युत कार्कीले बताए ।
सरकारले संक्रमणको चेन ब्रेक गर्न कम्तिमा दुई साताका लागि लकडाउन गर्नुपर्ने सुझाव चिकित्सकले दिएका छन् । ‘अब कम्तिमा दुई साताका लागि लकडाउन नगरेमा नियन्त्रण सम्भव देखिँदैन,’ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोभिड उपचार संयोजन डा. विमल पाण्डेले भने । यो समाचार आजका नागरिक दैनिकमा छ ।








































