ललितपुर, ४ बैशाख २०७८ । पाटन अस्पतालमा कोभिड–१९ का बिरामी बढ्न थालेपछि आईसीयू बेडको अभाव भएको छ । आईसीयूमा भर्ना गरेर उपचार गर्नुपर्ने बिरामी धमाधम फर्किन बाध्य भएका छन् ।
आमालाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने भए पनि बेड खाली नभएको भन्दै अस्पतालले भर्ना लिन नमानेको सिन्धुपाल्चोकका चिरञ्जीवी ढुंगानाले बताए । ‘बिहीबार अचानक ज्वरोले थला पर्नुभएको थियो, श्वासप्रश्वासमा पनि समस्या देखापरेपछि पाटन अस्पताल ल्याइयो,’ उनले भने, ‘महँगो खर्च तिरेर निजी अस्पतालमा उपचार गराउन बाध्य भएका छौं ।’
धापाखेलका मानबहादुर बस्नेतले पनि यही पीडा भोगे । उनका आमाबुबालाई कोरोना संक्रमण भयो । आमालाई श्वास फेर्न गाह्रो भएपछि उनले पाटन अस्पताल पुर्याएका थिए । तर आईसीयू बेड नपाउँदा निजी अस्पतालमा उपचार गराइरहेका छन् । उनको बुबाको भने होम आइसोलेसनमा उपचार भइरहेको छ ।








































