मकवानपुर – मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा पर्ने कुलेखानीको हेबी फाखेल सडकखण्डको मर्मत गर्न एक महिना गाडी आवतजावत बन्द हुने भएको छ।
आजदेखि आउँदो वैशाख २८ गतेसम्मको लागि सबै प्रकारका यातायात सेवा बन्द गर्ने निर्णय गरिएको वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ।
कुलेखानीको हेबीदेखि महालक्ष्मी हुँदै फाखेल र काठमाण्डौको सिमानामा पर्ने फर्पिङसम्मको सडकको ढलान, ढल निकास र कालोपत्रे गर्ने कामका लागि कुलेखानी हुँदै काठमाण्डौतर्फ जाने सबै गाडीको आवतजावत बन्द गर्नुपरेको निर्देशनालयका प्रमुख निर्देशक डा.सहदेव भण्डारीले जानकारी दिनुभयो ।
दक्षिणकाली हुँदै सिस्नेरी छुट्ने सडकखण्डमा भने गाडी सञ्चालनमा रोक नलगाइएको उहाँको भनाइ छ । निर्देशक भण्डारीकाअनुसार सम्बन्धित यातायात व्यवसाय, जिल्ला प्रशासन र भौतिक पूर्वाधार मन्त्रालयका पदाधिकारीको संयुक्त बैठकले आज हेबी र फाखेल सडकखण्ड बन्द गर्ने निर्णय गरेको छ ।
दक्षिणकालीकादेखि सिस्नेरी र कुलेखानीको हेबीसम्मकाे सडकमा ढल निकास र कालोपत्रे निर्माण गर्ने प्रयोजनका लागि केही हप्तापछि सिस्नेरी सडकखण्ड पनि बन्द गर्ने सहमति भएको निर्देशनालयले जनाएको छ ।








































