काठमाडौं, सोमबार, ९ चैत्र २०७७ । सांसदहरुले संसदीय समितिले गर्ने अनुगमन प्रभावकारी नभएको भन्दै स्वरुप फेर्नुपर्नेमा जोड दिएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले समितिले गर्ने अनुगमनहरुको प्रभावकारिता नदेखिएकाले नयाँ ढंगले कार्यक्रम बनाउनुपर्नेमा जोड दिएका हुन् ।

समितिको चालु र आगामी कार्यक्रमका सम्बन्धमा छलफल गर्दै सांसदहरुले परम्परागत रुपले गरिने अनुगमनले सम्बन्धित निकायको कार्यसम्पादनमा खासै फरक नपरेकाले औपचारिक रुपले भन्दापनि अनौपचारिक रुपले अनुगमन गरी बास्तविक तथ्य पत्ता लगाउनुपर्ने बताएका हुन् । नेकपा(एमाले) का सांसद नवराज सिलवालले सुशासन कायम गर्ने सम्बन्धमा विभिन्न सरकारी निकायमा औपचारिक रुपमा गरिने अनुगमनले उपलब्धी हासिल नगरेको भन्दै सुशासन कायम गर्ने सम्बन्धमा मिडियासँग अन्र्तक्रिया, विश्वविद्यालयका विद्यार्थीसँग अन्र्तक्रिया गर्नुपर्ने बताउनुभयो ।

त्यसैगरी नागरिक सँग बसेर नागरिकले पाएको सास्तीको बारेमा बुझेमा सम्बन्धित निकायको सेवा प्रवाह बारे नजिकबाट बुझिने भएकाले साधारण नागरिक सँग छलफल गर्नुपर्ने पनि उहाँको भनाई छ ।

नेपाली कांग्रसकी सांसद डिला संग्रौलाले अनुगमनलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो । खुल्ला कारागारको अवस्थाका साथसाथै कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका अन्य सिमा जोडिएका जिल्लाहरुमा पनि अवलोकन गर्नुपर्ने उहाँको भनाई छ ।

नेकपा(एमाले) का सांसद बृजेश कुमार गुप्ताले स्थानिय प्रशासनलाई थाहा नदिइकन अनुगमन गर्नुपर्ने बताउनुभयो । सांसदहरु ठुलो समुहमा नगइकन एक÷दुई जनाको समुह बनाई छड्के अनुगमन गर्नुपर्ने उहाँको भनाई छ ।

जनता समाजवादी पार्टी, नेपालका सांसद रामसहाय प्रसाद यादवले गोरखाको बारपाकमा भुकम्प पछि भएको पुर्ननिर्माण र जनजिवनको सम्बन्धमा स्थलगत अनुगमन गर्नुपर्ने बताउनुभयो । सरकारले के–कस्तो सेवा, सुविधा दिइरहेको छ र स्थानियको अवस्था कस्तो छ, वास्तविक तथ्य बुझ्नका लागि यो अनुगमन आवश्यक रहेको उहाँको भनाई छ ।

नेकपा(एमाले) का सांसद लालबाबु पण्डितले समितिले आगामी दिनको कार्यक्रम आफ्नो स्रोत र साधनले भ्याउने मात्रै बनाउनुपर्ने बताउनुभयो । पुरा गर्न नसक्ने गरी कार्यक्रम बनाउनु नहुने उहाँको भनाई छ ।

प्रतिनिधि सभाको पुर्नस्थापना पछि संघीय संसदका विभिन्न समितिहरुले नियमित बैठक गरिरहेका छन् भने समितिले आगामी दिनमा गर्ने कामहरुको बारेमा छलफल, परामर्श गरिरहेका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्