एजेन्सी, शुक्रबार, ६ चैत्र २०७७ । युरोपेली सङ्घ ईयूको औषधी नियामक ईएमएले गरेको एक समीक्षाले अक्सफर्ड–आस्ट्राजेनेका कोभिड खोप सुरक्षित र प्रभावकारी रहेको निष्कर्ष निकालेको छ।

उक्त खोप र रगत जम्ने समस्याबीच कुनै न कुनै सम्बन्ध हुनसक्ने भन्ने त्रासकाबीच ईयूका १३ देशहरूले सो खोपमा अस्थायी प्रतिबन्ध लगाएपछि ईएमएले अनुसन्धान थालेको थियो।

इटली, स्पेन र जर्मनी सहितका केही देशले उक्त खोपको प्रयोगलाई शुक्रवारबाट पुनः सुरु गर्ने घोषणा गरेका छन्। स्विडेनले निर्णय लिनका लागि आफूलाई केही दिनु चाहिने जनाएको छ।

ईएमएको समीक्षाका क्रममा अक्सफर्ड–आस्ट्राजेनेकाको खोप रगत जम्ने उच्च जोखिमसँग नजोडिएको पाइएको हो।

तर थोरै सङ्ख्यामा हुनसक्ने निकै दुर्लभ अवस्थालाई भने पूर्ण रूपमा नकार्न नसकिने उक्त निकायले जनाएको छ।

ईएमएकी कार्यकारी निर्देशक ईमिर कोकीले भनिन्, “यो खोपले अस्पताल भर्ना हुनुपर्ने वा ज्यान नै गुमाउनसक्ने जोखिम भएका मानिसहरूलाई जोगाउन सघाउँछ जुन सम्भावित जोखिमभन्दा निकै महत्त्वपूर्ण कुरा हो।”

आफ्ना खोप कार्यक्रममा आस्ट्राजेनेकाको खोप प्रयोग गर्ने वा नगर्ने विषयमा ईयू देशहरू आफ्नो निर्णय लिन स्वतन्त्र छन ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले बिहीवार देशहरूलाई उक्त खोपको प्रयोग जारी राख्न आग्रह गरेको थियो।

उक्त खोपको सुरक्षाका सम्बन्धमा आज डब्ल्युएचओले आफ्नो समीक्षाका नतिजा सार्वजनिक गर्दैछ।

डब्ल्यूएचओको अनुसन्धान रगतमा असहजता देखा परेका केही घटनाहरूमा केन्द्रित थियो।

अनुसन्धानका क्रममा डब्ल्युएचओले विशेषगरी टाउकोमा रगत जम्ने अवस्थालाई हेरेको बिबिसीले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्