काठमाडौ, शनिबार, २९ फागुन २०७७ । नेकपा एमालेका नेता माधवकुमार नेपालपक्षीय स्थायी कमिटी बैठकले समानान्तर कमिटी बनाउने निर्णय गरेको छ ।
शुक्रबार साँझ ओलीले एकतर्फी, एकलौटी ढंगले केन्द्रीय कमिटी पुनर्गठन गर्दै महाधिवेशनको मिति तोकेपछि नेपाल पक्षले आकस्मिक स्थायी कमिटी बैठक बोलाएर उक्त निर्णय गरेको हो ।
‘भोली शनिबारदेखि सबै जिल्लामा समानान्तर कमिटी बनाउने निर्णय भएको छ’ बैठकपछि एक स्थायी कमिटी सदस्यले पत्रकारसँग कुरा गर्दै भने, ‘केपी ओलीको नेतृत्वमा बसेको बैठकले पार्टीलाई बिसर्जनतिर लगेकाले पार्टीभित्रै समानान्तर कमिटी बनाउन लागिएको हो । ’
चाँडै नै औपचारिक रुपमा यसबारे घोषणा गर्ने ती नेताले बताए ।
ओलीले शुक्रबार बालुवाटारमा आफू पक्षीय केन्द्रिय कमिटीको बैठक डाकेर अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारी बर्खास्त गरेका थिए ।








































