धनगढी, बुधबार, २६ फागुन २०७७ । कैलालीमा एमालेभित्रका दुई समूहबीच कुटाकुट भएको छ । प्रदेश पार्टी कार्यालयमा एमालेका ओली समूह र माधव समूहका कार्यकर्ताबीच कुटाकुट भएको हो ।
मंगलबार बिहान कैलालीको धनगढीस्थित प्रदेश कार्यालयमा नेकपा एमालेको बोर्ड राखिएको हो । तर, उक्त बोर्ड माधव समूहले राखेको भन्दै स्वीकार गर्न नसकिने ओली समूहको तर्क छ ।
पार्टी कार्यालयमा प्रदेश इन्चार्जमा लेखराज भट्टको ‘नेम प्लेट’ राखेपछि नेपाल समूहका कार्यकर्ताहरुले ‘नेम प्लेट’ तोडफोड गरेका थिए । उनीहरूले नेकपा एमालेको सुदूरपश्चिम इन्चार्ज भीम रावल रहेको भन्दै भट्टको नेम प्लेट हटाए ।
यस क्रममा ओली समूह र नेपाल समूहका कार्यकर्ता नाराबाजीमा उत्रिएका थिए । विवाद बढ्दै गएपछि कुटाकुट भएको हो ।
अहिले ओली समूहले बोर्ड राख्दै गर्दा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । प्रहरी नायब उपरीक्षको नेतृत्वमा प्रहरी परिचालन भएको छ भने सशस्त्र प्रहरीको उपस्थिति रहेको छ ।








































