काठमाडौँ, शनिबार, २२ फागुन २०७७ । नेपाली टोलीका पहिलो रोजाइका गोलकिपर किरण चेम्जोङले भारतमा चलिरहेको आई लिग (२०२०-२१) मा ‘प्लेअर अफ दि मन्थ’को अवार्ड जितेका छन् ।
किरणले फेब्रुअरी महिनाको लागि प्लेअर अफ दि मन्थ अवार्ड जितेका हुन् । राउण्ड ग्लास पञ्जाव एफसीबाट आई लिग खेलिरहेका उनी ‘टिम अफ दि मन्थ’मा पनि पर्न सफल भएका छन् ।
उत्कृष्ट प्रदर्शन गरिरहेका किरणले पहिलो चरणको लिगमा १० खेल खेल्दा उनले ६ खेलमा क्लिनसिट राखेका थिए । उनले नियमित कप्तान विक्रमजित सिंहको अनुपस्थितिमा केही खेलमा कप्तानीसमेत गरेका थिए ।
किरणले प्लेअर अफ दि मन्थ अवार्ड पाएपछि भने, ‘मलाई एकदम खुसी लागेको छ र यसको श्रेय मेरो सम्पूर्ण टिम र कोचिङ्ग स्टाफलाई जान्छ। ‘
उनले अवार्ड जितेपछि आफ्नो सन्जालमार्फत सबै शुभचिन्तक, टिम, कोचिङ्ग स्टाफलाई धन्यवाद दिँदै, ‘मेरो करियरमा अर्को एउटा कोशेढुंगा थपिएको छ, तर अझै धेरै गर्न बाँकी छ’ भनेका छन्।
त्यस्तै, ‘कोच अफ दि मन्थ’को अवार्ड पनि उनी आवद्द क्लब पञ्जावकै कर्टिस फ्लेमिङले जितेका छन् ।









































