काठमाडौं, बुधबार, १२ फागुन २०७७ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न अफर गरेका छन् ।
बुधबार देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका प्रचण्ड र नेपालले देउवालाई नयाँ सरकार गठनमा सहकार्यको प्रस्ताव राख्दै यस्तो अफर गरेका हुन् । २० मिनेट भएको कुराकानीमा देउवा सकारात्मक रहेको प्रचण्ड निकट स्रोतले बतायो ।
‘कांग्रेस सभापति देउवासँग अध्यक्षद्वयले प्रतिनिधि सभा पुनर्स्थापना भएपछि कसरी जाने भन्ने विषयमा छलफल गर्नु भएको छ । त्यसमा सभापति ज्यु पनि सकारात्मक देखिनु भएको छ ।’ स्रोतले भन्यो ।
जवाफमा देउवाले पार्टीमा छलफल गरेर निर्णय गर्ने बताए । ‘तपाईहरुले भनेको कुरा ठीक छ, यस बारेमा म पार्टीभित्र छलफल गर्छु’ देउवाको भनाई उदृत गर्दै स्रोतले बतायो ।








































