एजेन्सी, बिहिबार, ६ फागुन २०७७ । अस्ट्रेलियामा सर्वसाधारण र प्रकाशकहरूले फेसबुकमा स्थानीय तथा अन्तर्राष्ट्रिय आउटलेटको समाचार शेयर गर्न र हेर्न नपाउने भएका छन् ।
अस्ट्रेलियामा प्रस्तावित सामाजिक सञ्जालसम्बन्धी नयाँ कानुनको विषयबारे विवादका कारण प्रविधि कम्पनी फेसबुकले बुधवार एक विज्ञप्ति जारी गर्दै अस्ट्रेलियामा सर्वसाधारण र प्रकाशकहरूले स्थानीय तथा अन्तर्राष्ट्रिय आउटलेटको समाचार शेयर गर्न र हेर्न नपाउने जनाएको हो ।
फेसबूकको विश्वव्यापी समाचार साझेदारीका उपाध्यक्ष क्याम्पबेल ब्राउनले भनेका छन्, ‘प्रस्तावित कानूनले हाम्रो प्ल्याटफर्म र प्रकाशकहरूबीचको आधारभूत सम्बन्धको पहिचान गर्न सकेको छैन ।’ अस्ट्रेलियाले प्रविधि कम्पनीहरूलाई सामग्री उपयोग गरिएकोमा प्रकाशकलाई पैसा तिर्नुपर्ने विधेयक तयार पारेपछि फेसबूकको यस्तो प्रतिक्रिया आएको हो ।
बीबीसीका अनुसार केही प्रयोगकर्ताहरूले निश्चित समाचार साइटहरूबाट सामाग्री साझा गर्न नमिल्ने बनाइसकिएको बताएका छन् । प्रस्तावित कानुनले गुगल र फेसबुकजस्ता ठूला प्रविधि कम्पनीहरूलाई अस्ट्रेलियाका सञ्चार संस्थाहरूसँग सम्झौता गर्न वा सामग्री साझा गरे बापत शुल्क तिर्न बाध्य पार्ने छ ।
यसअघि गुगलले अस्ट्रेलियामा आफ्नो सर्च इन्जिन बन्द गर्ने धम्की दिएको थियो ।








































