काठमाडौँ, सोमबार, ३ फागुन २०७७ । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर संविधानलाई भीरबाट खसाल्न प्रयास गरेको आरोप लगाएका छन्।
सोमबार कांग्रेसले काठमाडौँमा आयोजना गरेको विरोध सभामा बोल्दै उनले भने, ‘कम्युनिष्ट सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तरिकाबाट संसद विघटन गरेर संविधानलाई भीरबाट खासाले। यसले लोकतन्त्र, गणतन्त्र र संघीयता सुरक्षित छैन भन्नेमा कुनै शंका छैन।’
उनले विश्वमा कम्युनिष्ट शासनले कही पनि लोकतन्त्रिक व्यवस्था नजोगाएको भन्दै ओलीले चुनाव गराएर लोकतन्त्र र गणतन्त्र बचाउँछु भन्नु वनमाराको झार पालेर बस्नु बराबर भएको बताए। उनले भने, ‘विश्वमा कही पनि कम्युनिष्टहरुले लोकतान्त्रिक चरित्रलाई जोगाएका छैनन् र जोगाउँदैनन्। नेपालमा पनि ओलीले कमिनिष्टको नाममा लोकतन्त्र जोगाउन चुनाव गराउछु भन्नु वनमा वनमाराको झार रोपेजस्तै हुनु हो। अर्थात लोकतन्त्र कम्युनिष्ट शासनमा मजबुत हुन सक्दैन।’
२००७ साल देखि २०४६ र ६२/६३को उदाहरण दिँदै लोकतन्त्रिक गणतन्त्र र समावेशीताको कार्यान्वयन कम्युनिष्टले गराउन नसक्ने कांग्रेस र सबै लोकतन्त्रवादीहरुले बुझ्नु पर्ने उनको भनाइ छ।
कांग्रेसले देशभर प्रतिनिधिसभा विघटनको विरोधका विभिन्न कार्यक्रमहरु गर्दै आएको छ।








































