काठमाडौँ, आइतबार, २ फागुन २०७७ । नेपाली कांग्रेसले केरुङ नाका खोल्न सरकारसँग माग गरेको छ ।
आइतबार एक प्रेस विज्ञप्ति जारी गरेर प्रवक्ता विश्वप्रकाश शर्माले केरुङमा नागरिक र ब्यवसायिहरुले दुःख पाइरहेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।
‘चिनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिए लगत्तै अन्तर्राष्ट्रिय सिमा नाकाहरुमा प्रवेशमा कडाई र आवागमन बन्द समेत गरिनु तत्कालको परिस्थितिको बाध्यता र आवश्यक कदम थियो । तर तुलनात्मक रुपले स्थिति सहज बनेको अवस्थामा पनि उत्तरी सिमाको प्रमुख ब्यापारिक नाका केरुङमा नागरिक र ब्यवसायिहरुले दुःख पाइरहेको विवरण निरन्तर प्राप्त भइरहेकोे हुंदा नेपाली कांग्रेस यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउंदछ ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्तै, १५ सय बढी कन्टेनर सिमामा अलपत्र स्थितिमा पर्नु दुःखद रहेको बताउँदै उनले चीनिया पक्षसँग यथासिघ्र संवाद गरेर समस्याको समाधान खोज्न सरकारसँग माग गरेका छन् । ०७६ ‘माघ १५ देखि असार २७ सम्म पूर्ण रुपले बन्द भएको सामान ढुवानी त्यसपछि आंशिक खुला गरिएको तर दैनिक ५ कन्टेनरले मात्र प्रवेश पाउँदा १५ सय बढी कन्टेनर सिमामा अलपत्र स्थितिमा पर्नु दुःखद छ ।’ उनले भनेका छन्, ‘यसबाट एकातर्फ नेपाली व्यवसायीहरु मर्कामा परेका छन् भने अर्कातर्फ राज्यकै राजस्व संकलनमा पनि असर पुगेको छ । अतः चीनिया पक्षसँग यथासिघ्र संवाद गरेर समस्याको समाधान खोज्न नेपाली कांग्रेस नेपाल सरकार समक्ष माग गर्दछ ।’








































