काठमाडौँ, मंगलबार, २७ माघ २०७७ । सरकारले दुई चरणमा निर्वाचन गर्नका लागि प्रदेश र जिल्लाको टुंगो लगाएको छ ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले आगामी वैशाख १७ गते मुलुकका ४० जिल्ला र २७ गते बाँकी ३७ जिल्लामा आमनिर्वाचन गर्ने निर्णय गरेको हो । जसअनुसार वैशाख १७ मा प्रदेश २, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका ४० जिल्ला र वैशाख २७ गते प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेश अन्तर्गत ३७ जिल्लामा निर्वाचन हुनेछ ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदमका साथ प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको मिति तोकेका थिए । उक्त कदमविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको हुँदा उक्त मुद्दामा सुनावाइ जारी छ ।
ओलीले उक्त असंवैधानिक कदम चालेपछि विभाजन भएको सत्तारुढ नेकपाको प्रचण्ड-नेपाल पक्षसहित प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नागरिक समाजलगायत चरणबद्ध आन्दोलनमा उत्रिएको छ ।








































