काठमाण्डौ, आइतबार, २५ माघ २०७७ । विश्वमै प्रजातन्त्र र मानव अधिकारको सबैभन्दा मुख्य हिमायती दावि गर्दै आएको अमेरिकाले राष्ट्र एल साल्भाडोरबाट आफ्नी आमासँग आएकी एक बालिकालाई करिब २ वर्षदेखि चरम यातनासहित जेलमा थुनिरहेको घटना सार्वजनिक भएको छ ।
नौ वर्षिया ती बालिकाले जेलभित्रैबाट अमेरिकाका सांसदहरुलाई चिठी लेख्दै आफू र आफ्नी आमालाई आप्रवासी परिवारलाई राख्ने बन्दीगृहबाट मुक्त गराउन अनुरोध गरेपछि यो घटना सार्वजनिक भएको हो । सुरक्षाको कारण ती बालिका र उनकी आमाको नाम भने सार्वजनिक गरिएको छैन ।
अमेरिकाको विद्यमान नियमका अनुसार आप्रवासी बालबालिकालाई आईसीईको थुनामा बढीमा २० दिन मात्र राख्न पाइन्छ । तर, अमेरिकाले आफैले बनाएको कानुन उल्लंघन गर्दै बालबालिकाहरुलाई थुन्ने गरेको हो ।
विविसीका अनुसार एल साल्भाडोरकी ती बालिका अमेरिकाको आप्रवासन र भन्सार हेर्ने निकाय आइसीईको हिरासतमा सबैभन्दा लामो समय बिताउने नाबालिग हुन ्। नौ वर्षकी उनको अवाज मिठो छ तर उनी बेलाबेलामा आफ्नो उमेरभन्दा बढी परिपक्व कुरा गर्छिन् । उनकी आमाले एल साल्भाडोरको हिंसाका कारण आफू ती कान्छी छोरीलाई लिएर देश छाड्न बाध्य भएको आफ्ना अरू दुई सन्तान स्वदेशमै रहेको बताएकी छन् ।
‘मैले यहाँ दुईवटा क्रिस्मस बिताएँ । मलाई खाना पाउन नपाएकोमा चुकचुक लाग्छ । म आफैँ खाना बनाउन चाहन्छु । मेलै अङ्ग्रेजी भाषा केही सिकेकी छु । तर म यहाँबाट टाढा विद्यालयमा अझै अध्ययन गर्न चाहन्छु ।’ अमेरिकी सांसदहरुलाई लेखेको चिठीमा उनले भनेकी छन् ।
आप्रवासनसम्बन्धी अधिवक्ता र अधिकारवादीहरूले ती बालिका र उनकी आमालाई तत्काल रिहा गर्न माग गरेका छन् । आफ्नो चुनावी अभियानका क्रममा राष्ट्रपति जो बाइडनले परिवारलाई थुनामा राख्ने निर्णयको विपक्षमा बोल्दै जेलमा रहेका बालबालिका र अभिभावकहरूलाई तत्कालै रिहा गरिनुपर्ने बताउंदै आएका थिए । ती बालिकाको आमाले उनी र उनका छोरीलाई कम्तीमा पाँच पटक अमेरिकाबाट निकाला गर्ने प्रयास गरिएको बताइन् । अन्तिम समयमा वकिलहरूले आफूहरूलाई जोगाएको उनको भनाइ छ ।
स्मरणरहोस गत नोभेम्बरमा आप्रवासी अधिकारसम्बन्धी ६० वटा सङ्घसंस्थाले पदासीन राष्ट्रपति डोनल्ड ट्रम्प र राष्ट्रपति निर्वाचित जो बाइडनलाई पत्र लेख्दै १५ महिनादेखि आफ्ना परिवारसँगै हिरासतमा रहेका २८ बालबालिकाको रिहाइको माग गरेका थिए । पत्रमा उल्लेख गरिएका २८ बालबालिकामध्ये छ जनालाई उनीहरूकै देशमा फिर्ता गरिएको छ भने १७ जना मुक्त भएका छन् । वांकी अझै अमेरिकी जेलमै छन् ।








































