काठमाडौं, बिहिबार, ८ माघ २०७७ । नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप लिएर एयर इण्डियाको जहाज काठमाडौंका लागि उडेको छ ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले ट्वीट गर्दै नेपालको लागि कन्साइनमेन्ट लिएर जहाज उडेको जनाएका हुन् ।
पहिलो चरणमा आएको यो खोप जोखिममा खटिएका व्यक्तिलाई प्राथमिकता निर्धारण गरेर उपलब्ध गराउने सरकारको तयारी छ ।
नेपाल सरकारले भारतद्वारा अनुदानमा उपलब्ध गराइन लागेको खोप स्वास्थ्यकर्मी तथा अग्रपंक्तितमा खटिनेलाई उपलब्ध गराइनेछ। भारतले नेपाललाई कोरोनाविरुद्धको खोप सहयोग गर्ने सम्बन्धमा बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले भारत सरकारबाट नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्ध गराउन लागिएको जानकारी दिएका थिए । उनले पहिलो चरणमा आउने खोप निःशुल्क उपलब्ध भएको भन्दै खोप क्रमशः भारतबाट ल्याइने जानकारी दिएका थिए।








































