एजेन्सी, बिहिबार, २३ पुस २०७७ । अमेरिकी संसद भवनमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले गरेको तोडफोडको घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । जसमा एकजना महिला पनि रहेकी छन् । उनलाई गोली लागेको थियो ।
अमेरिकी चुनावमा पराजित भएपछि राष्ट्रपति ट्रम्पले झेली भएको आरोप लगाउँदै पुनः मतगणना तथा मतदानको माग गरिरहेको समयमा अमेरिकी सदनमा उनका समर्थकले आक्रमण गरेका हुन् ।
संसद भवनमा सांसदहरुले राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनका विषयमा चर्चा भइरहेको समयमा हातहतियारसहित आक्रमण भएको हो । प्रहरीले प्रदर्शनकारीबाट ५ थान हतियार बरामद गरको छ ।
तोडफोडको घटनामा संलग्न भएका तथा अन्य गरी अहिलेसम्म ५२ जान पक्राउ परिसकेका छन् । तीमध्ये ४० जनाभन्दा बढी तोडफोडको घटनापछि वासिङ्टन डिसीका मेयरले कर्फ्यू लगाएपछि पक्राउ परेका हुन् ।
आक्रमणका क्रममा प्रहरीको गोली लागेर ती महिलाको निधन भएको सिएनएनले लेखेको छ । प्रदर्शनका क्रममा उनको मृत्यु भएको तर विवरण खुल्न बाँकी रहेको वासिङ्टन डिसीका प्रहरी प्रमुख रोबर्ट कोन्टीले बताएका समाचारमा उल्लेख छ ।
तोडफोडको घटनामा भएको लामो समयपछि राष्ट्रपति ट्रम्पले आफ्ना समर्थकलाई घर जानका लागि अनुरोध गरेका थिए । उनले समर्थकहरुलाई घर जान अनुरोध गर्दै भनेका छन्, हामी तपाईहरुलाई माया गर्छौँ, तपाईहरु विशेष हुनुहुन्छ ।


















