काठमाडौँ, बिहिबार, २३ पुस २०७७ । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका हिंसक समर्थकहरूको झडपमा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
वासिङटन प्रहरीका अनुसार प्रहरीको गोली लागेर एक महिलाको र अन्य तीन जनाको ‘मेडिकल इमरजेन्सी’ का कारण मृत्यु भएको हो । मृतकको परिचय भने खुलेको छैन ।
ट्रम्पका हिंसक समर्थकहरूले वाशिङ्टनस्थित संसद भवन (क्यापिटल बिल्डिङ)मा पसेर हङ्गामा गरेका थिए । घटनामा संलग्न आरोपमा प्रहरीले अहिलेसम्म ५२ जनलाई पक्राउ गरेको छ। तीमध्ये ४७ जनालाई कर्फ्यु तोडेको आरोपमा पक्राउ गरिएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।
वाशिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ । सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू क्यापिटल बिल्डिङभित्र प्रवेश गरेका थिए। उनहिरु चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शनरत थिए ।
तर, हाल ट्रम्पका समर्थकहरूलाई हटाइएको केही बेरपछि उक्त बैठक पुनः सुरु भएको हो । उक्त बैठकमा राष्ट्रपति(निर्वाचित जो बाइडेनलाई राष्ट्रपति प्रमाणित गर्ने कार्यले निरन्तरता पाएको छ ।








































