काठमाण्डौ, १५ पुस २०७७ । स्विटजरल्याण्डका भेर्बियमा रहेको एक रिसोर्टबाट आइतबार राती फरार भएका ४२० जन बेलायतीहरु ३ दिनसम्म पनि फेला नपरेपछि युरोपभर सनसनी मच्चिइएको छ ।
स्विटजरल्याण्डका सरकारी अधिकारीहरुले यो घटना स्विस पर्यटनको इतिहांसमै कालो धब्बाको रुपमा रहेको भन्दै यो सातालाई ‘कालो साता’ (ब्याल्क विक) भएको बताएका छन् ।
यो घटनाले युरोपको मात्रै नभएर विश्वकै पर्यटन उद्यममा नकारात्मक असर पार्न सक्ने अडकलबाजी गरिएको छ ।
स्विटजरल्याण्ड कोरोना माहामारीबाट सबैभन्दा आक्रान्त रहेको युरोपेली मुलुक हो । त्यहीकारण उसले केही महिनादेखि बिदेशी पर्यटकहरुमाथि कडाई गर्दै आइरहेको छ । स्विटजरल्याण्ड जानेहरुले कम्तिमा दुई साता क्वारेण्टाइनमा बस्नै पर्ने अनिवार्य नियम लागू गरिएको छ । त्यो नियम विदेशीहरुलाई मात्र होइन, अर्काे कुनै देशबाट स्वदेश फर्किने स्विस नागरिकहरुमा पनि लागू गरिएको छ । त्यो नियम उल्लंघन गर्नेहरुलाई जनहि १० हजार स्विस फ्र्यांक (करिब १२ लाख रुपैंया) सम्म जरिवाना र कसुर हेरि जेल सजायसमेत तोकिएको छ ।
त्यही कडा प्रावधानका कारण अहिले धेरै देशबाट पर्यटकहरु स्विटजरल्याण्ड जान हच्किरहेको बेला बेलायती पर्यटकहरुको टोली क्रिसमस मनाउनको लागि त्यहां पुगेका थिए ।
होटलमै क्वारेण्टाइनमा बसेकाहरु आइतबार साँझसम्म राम्रै व्यवहार गरेका थिए । उनीहरुले कुनै हो हल्ला गरेका थिएनन् र भाग्न खोजेको कुनै संकेत दिएका थिएनन् । होटेलले आइतवार विहान हरेकको ढोका बाहिर लगेर खाजा (ब्रेकफास्ट) राखिदिएको थियो । तर उनीहरुले त्यो खाजा नखाई एकैसाथ भागेको बताइएको छ ।
स्थानीय बगनेस नगरपालिकाका मेयर जेन मार्क सान्दोजले एकै पटक पर्यटकहरु भाग्दा पनि होटलका कर्मचारीहरु थाहा नपाउनु रहस्यको विषय भएको भन्दै सत्य तथ्य पत्ता लगाउने र फरार भएका बेलायती पर्यटकहरुको खोजी कार्य भैरहेको बताएका छन् ।
भेर्बियर पर्यटनका निर्देशक साइमन वेगेटले यो घटनाले आफूहरुलाई निकै तनाव दिएको बताउंदै क्वारेण्टाइनको नियम लागू कसरी गर्ने भन्ने स्थानीय र केन्द्रका सरकारी अधिकारीबीचको मतभिन्नताले पनि केही असहज स्थिति उत्पन्न गरेको बताएका छन् । ‘के गर्ने, कसो गर्ने भन्ने अन्योलका बीचसरकारी अधिकारीहरुले अचानक क्वारेन्टाइनसम्वन्धि नियम कडा गर्न दिएको आदेशले व्यवसायीलाई गाह्रो भएको उनको भनाइ छ । ‘हामीले सरकारी निकायलाई सूचनासम्म दिन सक्छौं । हाम्रो काम त्यत्ति हो , हामी प्रहरीहरु होइनौं पक्राउ गर्ने ।’ उनको भनाई छ ।
स्मरणरहोस् कोरोना भाइरसको नयाँ संस्करण (म्युटेड) को पत्ता लागेपछि स्विजरल्याण्डले २० डिसेम्बरदेखि बेलायत र दक्षिण अफ्रिकाबाट आउने सबै उडानहरू रोकेको छ ।
अधिकारीहरुका अनुसार डिसेम्बर १४ देखि यता क्रिसमसको दिन डिसेम्वर २५ सम्म बेलायतबाट स्विजल्याण्डका लागि ९२ विमान उडे । तिनमा अनुमानित १०,००० व्यक्तिहरू आएका थिए । बेलायतबाट फर्किने मध्ये धेरै आफ्ना नागरिकहरू रहेको स्विस अधिकारीहरुको दावि छ ।
स्विस स्वास्थ्यमन्त्री अलेन बरसेटले भागेका बेलायतीहरु कहाँ छन् भन्ने बारे सरकारलाई कुनै जानकारी नभएको तर, उनीहरु बेलायत फर्कि सकेकामा भने शंका रहेको बताएका छन् ।








































