काठमाडौं, मंगलबार, ३० मङ्सिर २०७७ । सरकारले जारी गरेको संवैधानिक परिषदको काम कर्तव्य र अधिकारसम्बन्धी अध्यादेशलाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कुत्सित मनसायबाट आएको बताएका छन् ।
समाजिक सञ्जालमा नेता पौडेलले यसले अधिनाकवादतर्फ सरकार अघि बढेको थप प्रमाण भनेका छन् ।
“संवैधानिक परिषदको मूल मर्म विपरीत संवैधानिक निकायमा आफू अनुकूलका मानिस भर्ने कुत्सित नियतका साथ संसद अधिवेशनलाई छल्नका लागि हतार हतारमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्नु सर्वसत्तावाद र निरंकुशतातर्फ सरकार अगाडि बढेको प्रमाण हो,” पौडेलले भनेका छन्, ‘‘यस्तो कार्यको म घोर भ्रत्सर्ना गर्दछु ।’’
विमलेन्द्र र शेखरको यस्तो टिप्पणी
कांग्रेस उपभासपति विमलेन्द्र निधिले अध्यादेशलाई संविधान र वर्तमान व्यवस्थाप्रतिको नाङगो आक्रमण भनेका छन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘‘आज अचानक आएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश सर्वसत्तावादी र अधिनायकवादी काम हो । संविधान र प्रणालीमाथि नाङ्गो आक्रमण हो, घोर भ्रत्सर्ना गर्छु । यो अध्यादेश स्वीकार्य हुँदैन ।’’
कांग्रेस नेता डाक्टर शेखर कोइरालाले त अध्यादेशलाई कांग्रेसले भन्ने गरेको अधिनायकवादको सिंढी भनेका छन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘‘संविधानको मर्म र भावना विपरीत ल्याएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश तुरुन्तै खारेज गरियोस् । यो अध्यादेश हामीले भन्दै आएको अधिनायकवादको सिंढी हो ।’’
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई ट्वीटरमा कामकुरो एकातिर कुम्लो बोकी ठोरीतिर भन्दै प्रश्न गरेका छन् ।
‘‘काम कुरो एकातिर कुम्लो बोकी ठोरी तिर ?,’’ शर्माले प्रधानमन्त्रीको अधिकारिक ट्वीटर ह्यान्डलमा मेन्सन गर्दै लेखेका छन्, ‘‘किन्तु, परन्तु, इफ, बट, दाया बाँया आदि इत्यादि कुरै छैन । अध्यादेश विल्कुलै गलत छ । हाम्रो प्रष्ट विमति छ । समर्थन नखोज्नुस्, खारेज गर्नोस् ।”









































