काठमाडौं,मंगलबार, ३० मङ्सिर २०७७ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उखु किसानको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले माइतीघर मण्डलामा भएको किसानको आन्दोलनमा सहभागी भइ केहीबेर सँगै धर्नामा साथ दिनुभएको थियो ।
शर्माले किसानहरूको आन्दोलन जति लम्बिन्छ सरकारलाई त्यति महंगो पर्ने चेतावनी दिँदै भन्नुभयो, “गतवर्ष चिसो भुइँमा आएर किसान बसेपछि सरकारले सम्झौता त ग¥यो तर अहिले सम्झौता गर्ने सरकार छ कि छैन ? यो अवस्था लम्बिए सरकारलाई अप्ठ्यारो पर्छ ।’
प्रवक्ता शर्माले प्रधानमन्त्रीलाई प्रश्न गर्दे भन्नुभयो, ‘यिनीहरू माफिया हुन् भन्ने मन्त्रीको भनाइ यो सरकारको भनाइ हो कि होइन ? सरकारको जवाफ होइन भने मन्त्रीलाई कारवाही गर्ने कि नगर्ने ?”
बक्यौता रकम भुक्तानीमा सम्झौता गराउने सरकारले सहयोग नगरेको तथा रकम नपाएको भन्दै उखु किसानहरूले तेस्रोत दिन पनि राजधानी केन्द्रित प्रदर्शन गरेका छन् ।








































