काठमाडौँ, बिहिबार, २० कात्तिक २०७७ । अमेरिकी राष्ट्रपति चुनावको मतगणना जारी रहँदा दुई उम्मेदवारबीच अझै निकट प्रतिस्पर्धा बढदै गएको छ । अमेरिकामा कूल ५० राज्यमध्ये ४३ स्थानको नतिजा सार्वजनिक हुँदा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पबीच कडा टक्कर देखिएको हो ।
वाइडेनले अमेरिकी जनतालाई सम्बोधन गर्दै धैर्य गर्न आह्वान गरेका छन् । उनले चुनावी परिणाम आफ्नो पक्षमा आउनेमा विश्वस्त रहेको बताएका छन् । ‘ब्याटलग्राउन्ड’राज्य मानिएको मिसिगनमा जित हात पारेपछि वाइडेनले आफूहरुले जित्नेमा ढुक्क भएको बताएका हुन् ।
यता ट्रम्पको चुनावी प्रचार अभियान समूहले भने धाँधली भएको आरोप लगाउँदै मिशिगन, पेन्सल्भेनिया र जोर्जामा मतगणना रोक्न माग गर्दै कानुनी प्रक्रिया अघि बढाएको छ । यसअघि सो समूहले विस्कन्सिनमा पुनः मतगणना माग्ने जनाएको थियो ।
राष्ट्रपति पदमा निर्वाचन हुन २ सय ७० इलेक्ट्रोलर कलेज भोट आवश्यक पर्छ । जसमा हालसम्मको सार्वजनिक नतिजाअनुसार वाइडेनले २ सय ६४ इलेक्ट्रोलर कलेज भोट पाएका छन् भने ट्रम्पले २ सय १४ भोट पाएका छन् । अब जितका लागि बाइडेनलाई कुनै एक राज्यमा जित हासिल गरे पुग्छ।








































