काठमाडौँ, शुक्रबार, १४ कात्तिक २०७७ । कोरोना भाइरस (कोभिड-१९) को विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण अहिलेसम्म विदेशमा रहेका एक लाख २३ हजार ८ सय ४८ जना नेपाली स्वदेश फर्किएका छन् ।
मुुलुकमा चैत ११ गतेदेखि बन्दाबन्दी सुरु भएता अहिलेसम्म सो सङ्ख्यामा नेपाली स्वदेश फर्केका हुन् । कोभिड–१९ को सङ्क्रमणबाट असहज अवस्थामा रहेका नेपाली स्वदेश फर्कने क्रम जारी नै रहेका छन् । केन्द्रका अनुसार, अहिलेसम्म प्रदेश १ का पन्ध्र हजार ८ सय ६९ जना, प्रदेश २ का १३ हजार ५ सय ९८ जना, बागमती प्रदेशका १८ हजार ८ सय ९२ जना, गण्डकी प्रदेशका नौ हजार ९ सय ४२ जना, लुम्बिनी प्रदेशका १२ हजार ८ सय ८३ जना, कर्णाली प्रदेशका एक हजार ६ सय ३५ जना र सुदूरपश्चिम प्रदेशका एक हजार ८ सय ६० नेपाली स्वदेश फर्किएका छन् । प्रदेशगत विवरण प्राप्त नभएका ४९ हजार १ सय ६९ जना नेपाली अहिलेसम्म स्वदेश फर्केका छन् ।
विभिन्न ३३ मुलुकबाट नियमित र चार्टर्ड उडानमार्फत नेपाली स्वदेश फर्किएको कोरोना भाइरस (कोभिड-१९) सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले जनाएको छ ।
साथै, हालसम्म मलेसियाबाट १७ हजार ९ य २४ जना, यूएईबाट ३५ हजार ९ सय ९२ जना, साउदी अरबबाट १७ हजार ३ सय २२ जना, कतारबाट २३ हजार १ असी ३५ जना, कुवेतबाट नौ हजार ९ सय २३ जना, ओमानबाट दुई हजार १ सय २६ जना, बहराइनबाट एक हजार ३ सय ३९ जना नेपाली स्वदेश फर्किएको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले जनाएको छ ।








































