काठमाडौं, शनिबार, १७ असोज २०७७ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलँदै जाँदा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जो वितरण पनि बढ्न थालेको छ ।
हालसम्म करिब ९० हजार वटा गुर्जाको बिरुवा निःशुल्क वितरण गरिएको छ । चाँगुनारायण नगरपालिकाको दुवाकोटमा ३००, धुलो, चिया र डाँठ समेत वितरण गरिएको छ । खाली पेटमा मनतातो पानीमा गुर्जोको धुलो राखेर खाएमा तरोताजा अनुभव हुने गरेको छ । पातञ्जल योग समिति, चक्रपथ सफाइ अभियानको पश्चिम खण्डमा गरी ३५० वटा गुर्जो वितरण गरिएको छ ।
गुर्जोको बिरुवा, धुलो, डाँठ र चिया निःशुल्क वितरणमा लाग्नुभएका अभियानकर्मी कमलबहादुर राजलवटले उपत्यकाका विभिन्न स्थानमा माग अनुसार वितरण गरिएको जानकारी दिनुभयो ।
आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तोः तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छन् तिनलाई औषधीको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने भावना अनुसार देशव्यापी रुपमा गुर्जो रोपण अभियानलाई तीव्र बनाइएको हो ।
अभियानले कोरोना पोजेटिभ भएकालाई गुर्जोको धुलो वितरण अभियानलाई समेत तीव्र बनाएको छ । गुर्जोको धुलो मन तातो पानीमा मिसाएर एक हप्ता सेवन गर्ने कोरोना पोजेटिभ भएकामा रोग प्रतिरोधी क्षमता बढाउने बताइएको छ ।
गुर्जो मधुमेह, उच्च रक्तचाप, मौसमी रुघाखोकी लगायत रोगका लागि औषधीको काम गर्ने गरेको छ । गर्भवती महिला र पाँच वर्ष मुनिका बालबालिकाका लागि भने गुर्जो सेवन गराउन हुँदैन ।








































