काठमाडौं, शुक्रबार, १६ असोज २०७७ । पूर्वराष्ट्रपति डा.रामवरण यादवले स्वास्थ्य क्षेत्रको सुधारका लागि अनसनरत डा.गोविन्द केसीलाई भेटेका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर डा.केसीको स्वास्थ्य अवस्थामा चासो लिएका यादवले उनका माग सम्बोधनका लागि आग्रह गरेका छन् ।
पत्रकारसँग संक्षिप्त कुराकानीगर्दै यादवले भने, ‘चाँडोभन्दा चाँडो माग सम्बोधन हुनुपर्छ । जति अहिले समाधान गर्न सकिन्छ, समाधान गर्दै जानुपर्छ । सरकारलाई मेरो आग्रह छ, उहाँका माग सम्बोधन गर्नुपर्छ ।’
गान्धी जयन्ती तथा विश्व अहिंसा दिवसको अवसर पारेर त्रिवि शिक्षण अस्पताल पुगेका यादवले आफ्नो स्वास्थ्य अवस्था हेरेर अनशन तोड्नका लागि केसीसँग आग्रह गरे । स्वास्थ्य क्षेत्रको सुधारका विभिन्न माग राखेर १९औँ पटक अनशनमा बसेका केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।








































