काठमाडौं, शुक्रबार, ९ असोज २०७७ । गृह मन्त्रालयले नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा गर्न सहमति दिएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आगामी मंसिरमा महासंघको साधारणसभा एवं चुनाव गर्न गृह मन्त्रालयबाट सहमति प्राप्त भएको बताए ।
गृह मन्त्रालयले विद्युतीय माध्यमबाट साधारणसभा गर्न र निर्वाचनको मतदान गर्दा एक पटकमा २५ जनाभन्दा बढी जम्मा नहुने लगायत स्वास्थ्य तथा सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गर्नेगरी अनुमति दिएको गोल्छाले बताए ।
यससँगै महासंघको चुनाव मंसिर दोस्रो साता हुने भएको छ । वरिष्ठ उपाध्यक्ष गोल्छाले अब छिट्टै नै साधारणसभा र चुनावको मिति तोकिने बताए । उनले स्वास्थ्य मापदण्डको सम्बन्धमा सरकारले तत्कालिन समयमा जारी गरेका मापदण्डलाई पूर्णरुपमा पालना गर्ने र आवश्यक परेमा ३/४ वटा ठाउँबाट दुई दिनसम्म गरेर भएपनि चुनाव गरिने स्पष्ट पारे ।
महासंघले आगामी मंसिर दोस्रो साता साधारणसभा एवं चुनाव गर्नका लागि गृह मन्त्रालयसँग स्वीकृति माग्दै पत्र पठाएको थियो । सोही पत्रको जवाफ दिदै मन्त्रालयले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गरी चुनाव गर्न सहमति दिएको हो ।
कोभिड १९ का कारण देशभर लकडाउन हुँदा २०७६ चैत महिनामा हुनुपर्ने महासंघको महाधिवेसन रोकिएको थियो ।








































