काठमाडौँ, बुधबार, ७ असोज २०७७ । बेलायती राजकुमार ह्यारीले कोरोना भाइरसको महामारीमा पनि नेपालीहरूको आत्मबल बलियो रहेको भन्दै प्रशंसा गरेका छन् ।
ट्रेलवाकर युकेले १०० किलोमिटर लामो परोपकारी रिले दौडबारे जारी गरेको एक भिडियोमा ह्यारीले नेपालीको प्रशंसा गरेका हुन् । अक्सफाम र द गोर्खा वेलफेयर ट्रस्टका लागि रकम सङ्कलन गर्ने उद्देश्यले यो भर्चअुल यात्रा आयोजना गर्न लागिएको हो ।
बि स २०७२ सालमा गएको प्रलयकारी महाभूकम्पसँग यस महामारीको तुलना गर्दै ह्यारीले नेपालीहरूको प्रशंसा गरेका हुन् । ‘करिब ५ वर्षअघि, मैले नेपालका विभिन्न समुदायमा भ्रमण गर्न, परिवारहरूलाई भेट्न र राज्यले भूकम्पपछि कसरी पुनर्निर्माणको काम गरिरहेको छ भन्ने आफ्नै आँखाले देखेको थिएँ ।
भवन, मन्दिर, घर र सम्पूर्ण गाउँ पूर्ण रूपमा ध्वस्त भएको थियो।’ उनले भनेका छन्, ‘तर यो स्पष्ट थियो कि नेपालीहरूले सामना गर्नु परेको विपद्का बावजुद् पनि उनीहरूको आत्मबल र फेरि पुरानै लयमा फर्किने शक्ति कहिले कमजोर भएन। उनीहरू एकअर्काको हेरचाह गर्थे र आपसमा दयाको भाव थियो । यद्यपि कोरोना महामारीमा फेरि एकपटक नेपालीहरुको बहादुर भावना देखिएको छ ।’
ट्रेलवाकरका सहभागीहरुले पैदल यात्रा गर्दै रकम संकलन गर्ने गर्दछन् । ट्रेलवाकर च्याम्पियन बन्न २७ सेप्टेम्बर सम्ममा समूहमा १०० किलोमिटर दौडिनु पर्नेछ भने ३ सय ५० पाउन्ड उठाउनु पर्नेछ ।








































