काठमाडौं, बिहिबार, १ असोज २०७७ । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आफू दुई तीन दिनमा नै अस्पतालबाट डिस्चार्ज हुने बताएका छन् ।
आज भिडियो सन्देश जारी गर्दै उनले अहिले आफू ओम अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा उपचार गरिरहेको र चाँडै नै निको भएर घर फर्किने बताएका हुन् । ‘मेरो चिन्ता गर्नुपर्दैन, दुई तीन दिन अस्पताल बसेर म डिस्चार्ज हुन्छ’, उनले भिडियो सन्देशमा भनेका छन् ।
कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएपछि उनि मङ्गलबार अस्पताल भर्ना भएका हुन् । होम आइसोलेसनमा रहनु भएका कोइरालालाई ज्वरो आएपछि अस्पताल भर्ना गरेर उपचार भइरहेको अस्पतालका प्रवन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए ।
महामन्त्री डा कोइरालाको स्वास्थ्य अवस्थाबारे भ्रामक कुरा आएपछि अस्पतालले उनको भिडियो सन्देश जारी गरेको हो ।








































