काठमाडौं, बुधबार, ३१ भाद्र २०७७। बहराइनका राजकुमार सहित १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आउँदै छ । यहि उद्देश्यसहित मंगलबार राति उनिहरु नेपाल प्रस्थान गरेको बहराइनमा अवस्थित नेपाली दूतावासले जनाएको छ ।
बहराइन Royal Guard (डिफेन्स फोर्स) मा कार्यरत १५ जना बहराइनका नागरिक तथा ३ जना बेलायती नागरिक रहेको सो टोली शेख ईशा एयरबेसबाट विशेष विमानबाट नेपाल प्रस्थान गरेको हो । २ महिनाको कार्यक्रमसहित नेपाल प्रस्थान गरेको सो टोलीले लोबुचे र मनास्लु हिमाल आरोहणलाई पूर्व तयारीको रूपमा लिंदै सन् २०२१ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने छ ।
सो टोलीलाई आरोहणका लागि नेपाल आउन दिने प्रस्ताव सम्बन्धमा मिति २०७७/०५/१४ मा नेपाल सरकार “मन्त्रिपरिषद्” को निर्णय भएको थियो ।
उक्त टोलीले नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य सम्बन्धी सम्पूर्ण protocol पालना गर्नेछ । उनीहरुलाई नेपाली राजदूत पदम सुन्दास, नियोगको द्वितीय सचिव अरूणा घिसिङ लगायतले बिदाइ गरेका थिए ।








































