चितवन, मंगलबार, ३० भाद्र २०७७ । पहिरोले चितवनमा पाँच घरमा क्षति पुर्याएको छ । अविरल वर्षासँगै गए राति खसेको पहिरोले चितवनको इच्छाकामना गाउँपालिका ६, पाँचकिलो बजारका घरमा क्षति पुर्याएको हो ।
पहिरोले एउटा म्याजिक भ्यान र एउटा बुलेरो जिपमा पनि क्षति पुर्याएको स्थानीय चित्रबहादुर गुरुङले जानकारी दिए । वडा ६ कै राष्ट्रिय आधारभूत विद्यालय पैरेनी र सो विद्यालयको शौचालयमा समेत क्षति पुर्याएको उनले बताए । गुरुङका अनुसार अहिले क्षतिग्रस्त घरका परिवार सुरक्षित स्थानतर्फ गएका छन् ।
पाँचकिलो बजार नारायणगढ-मुग्लिन सडक खण्डमा पर्छ । सो खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका ६, चारकिलो र पाँचकिलो डाँडामा पहिरो खस्दा अहिले नारायणगढ-मुग्लिन सडक अवरुद्ध छ । पहिरो पन्छाई सडक सञ्चालन गर्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।








































