बिबिसी, बुधबार, १७ भाद्र २०७७। कोरोना भाइरसको महामारीले अष्ट्रेलियाको तीन दशकको आर्थिक वृद्धिमा अवरोध खडा गरेको छ । सन् २०२० को पछिल्लो तथ्यांक अनुसार दोस्रो त्रैमासिक अर्थात अप्रिल देखि जुनसम्म अष्ट्रेलियाको अर्थतन्त्रमा सात प्रतिशतले गिरावट आएको छ ।
यस्तै पहिलो तीन महिनामा ० दशमलव ३ प्रतिशतले गिरावट आएको थियो । बीबीसीका अनुसार अष्ट्रेलियाको अर्थव्यवस्थामा सन् १९५९ पछि यो सबैभन्दा ठूलो गिरावट हो ।
लगातार दुई त्रैमासिकमा अर्थव्यवस्थामा संकुचन आउनुलाई मन्दी भनिन्छ । अष्ट्रेलियालाई बलियो अर्थव्यवस्था भएको देश मानिन्छ । जुन् २००८ को विश्वव्यापी मन्दीबाट पनि बचेको थियो । यसको कारण मुख्यतया चीनमा अष्ट्रेलियाको प्राकृतिक स्रोतको माग हो ।
यस वर्षको शुरूमा जंगलमा लागेको डढेलो र पछि कोरोनाको महामारीका कारण अष्ट्रेलियाको अर्थव्यवस्थामा गिरावट आएको बीबीसीले जनाएको छ । यसपछि, लकडाउनको कारण व्यापार बन्द भयो अर्थव्यवस्था अझ नराम्रो भयो ।
सरकार र केन्द्रीय बैंकले लिएका कदमहरूले पनि खासै प्रभाव पारेन । बीबीसीका अनुसार वस्तु र सेवाहरूमा धेरै कम खर्चको कारण यो पछिल्लो ६१ वर्षमा सबैभन्दा खराब आर्थिक वृद्धि भएको छ । अस्ट्रेलियामा अन्तिम समय आर्थिक मन्दी सन् १९९० को मध्यमा सुरु भएको थियो जो सन् १९९१ को अन्त्यसम्म चलेको थियो ।








































