पोर्टल्यान्ड, आइतबार, १४ भाद्र २०७७ । संयुक्त राज्य अमेरिकाको ओरेगनमा बृहतरुपमा उपस्थित राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक र ‘ब्लयाक लाइफ म्याटर्स’ का आन्दोलनकारीबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ ।
सार्वजनिक भएका तस्बिरहरुमा देखिए अनुसार स्वास्थ्यकर्मीहरुले ती व्यक्तिको जीवन बचाउने कोसिस गरेका थिए । प्रहरीले मृत्यु हुनेको पहिचान खुलाएको छैन ।
पछिल्ला साताहरुमा पोर्टल्यान्डका सडकहरुमा निरन्तर प्रदर्शनहरु भइरहेका छन् । सहरमा प्रहरीको ज्यादती र जातीय हिंसाविरुद्ध प्रदर्शनहरु भइरहेका छन् । २५ मेमा एक गोरा प्रहरीले काला जातीका अफ्रो-अमेरिकन जर्ज फ्लोइडको हत्या गरेपछि प्रदर्शन सुरु भएको थियो ।
ट्रम्पका समर्थकहरुले निरन्तर तीन दिनदेखि जारी गरेको शनिबार साँझदेखिको र्यालीमा बृहत उपस्थिति थियो ।
प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “साउथ इस्ट र साउथ वेस्ट अल्डर स्ट्रिटमा गोली चलेको आवाज प्रहरीले सुनेको थियो । प्रहरी तुरुन्तै घटनास्थल पुग्दा एकजनालाई गोली लागेर ढलिरहेको थिए । तुरुन्तै मेडिकल टिमलाई बोलाएर बचाउने कोशिस गरे पनि त्यो सम्भव भएन र उनले अन्ति श्वास फेरेका थिए ।”
उक्त हत्या प्रकरणपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रहरीविरुद्ध आक्रोश व्यक्त भएका थिए । प्रदर्शनले व्यापक रुपमा लिन थालेपछि राष्ट्रपति ट्रम्पले जुलाईमा संघीय सुरक्षा बललाई खटाउँदै हिंसा रोक्न निर्देशन दिएका थिए । बिबिसी








































