जर्मन, आइतबार, १४ भाद्र २०७७ । कोरोना भाइरस महामारीका कारण लगाइएको प्रतिबन्धविरुद्ध जर्मनीको राजधानी बर्लिनका सडकमा हजारौं मानिसहरु प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनकारीमध्ये ३०० जना भन्दा बेसी प्रहरीले गिरफ्तार गरेको जनाएको छ ।
सडकमा करिब ३८,००० मानिस उत्रिएका थिए र प्रदर्शन सामान्यतया शान्तिपूर्ण रह्यो । जर्मनीमा जस्तै यूके, स्वीट्जरल्याण्ड, अस्ट्रिया र फ्रान्समा पनि कोरोनाभाइरस महामारी नियन्त्रणका निम्ति लगाइएका प्रतिबन्धहरूको विरोधमा प्रदर्शनहरू भएका छन् ।
बर्लिनको एउटा प्रदर्शनबाट करिब २०० जनालाई पक्राउ गरिएको छ । अधिकारीहरूले दक्षिणपन्थी प्रदर्शनकारीहरूले ढुङ्गा र बोतल प्रहार गरेको आरोप लगाए । उक्त समूहलाई सुरक्षा नियमहरूको अवज्ञा गरेको भन्दै प्रहरीले तितरबितर हुन निर्देशन दिएको थियो । तर, नमानेर उल्टै आक्रमणमा उत्रिएपछि गिरफ्तार गरिएको अधिकारीहरूले जनाएका छन् ।
बर्लिन प्रहरीले सबै उपाय अपनाउँदा अपनाउँदै पनि तिनले काम नगरेपछि गिरफ्तार गर्नुको विकल्प नरहेको ट्विटरमार्फत् जनाएको छ ।
सो क्रममा सातजना प्रहरी अधिकारीहरू घाइते भएका बताइएको छ ।
बर्लिमा प्रदर्शन
मानिसहरू विभिन्न स्थानहरूमा सँगसँगै बसेका थिए । अर्को स्थानमा करिब ३०,००० मानिसहरू भेला भएका थिए । उक्त प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो ।
प्रदर्शनकारीहरू लगाइएका प्रतिबन्धहरूले जर्मनीको संविधानमा सुनिश्चित गरिएका आधारभूत अधिकार र स्वतन्त्रताको उल्लङ्घन गरेको ठान्छन् र ती फिर्ता लिइयोस् भन्ने चाहन्छन् ।








































