काठमाडौँ, आइतबार, ३२ साउन २०७७ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानका थप ६ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै कुल सङ्क्रमितको संख्या २६ हजार ६ सय ६० जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।
नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशभरका विभिन्न ३९ प्रयोगशालामा गरिएको परिक्षणका क्रममा पछिल्लो २४ घण्टामा ६ सय ४१ जनामा सङ्क्रमण भेटिएको बताए । आजै १३४ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिए। हाल नेपालका ९ हजार २ सय २१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।
नेपालका ५ जिल्लाहरु सङ्खुवासभा, मनाङ्ग, मुस्ताङ्ग, र डोल्पा, हुम्ला अहिले कोरोना संक्रमित छैनन् । त्यस्तै, काठमाडौँ, पर्सा, रौतहट, महोत्तरी र मोरङ्ग जिल्लामा ५ सय भन्दा बढी सङ्क्रमित रहेका छन्। हालसम्म नेपालमा १७ हजार ३ सय ३५ जना निको भएका छन् भने १०४ जनाको मृत्यु भएको छ।








































