विराटनगर, बुधबार, १४ साउन २०७७ । कोरोना कहरकाबीच नेपाली कांग्रेसको नेतृत्व कर्यकर्ता प्रशिक्षण कार्यक्रम लिएर गाउँ पसेको छ । कांग्रेसको पूर्वनिर्धारित कतिपय कार्यक्रमहरुलाई कोरोनाले असर गरिरहेको छ । तर, मोरङमा भने जिल्ला कार्यसमितिले सामाजिक दूरी कायम गर्दै पालिकाहरुमा प्रशिक्षणका कार्यक्रम सुरु गरेको हो ।

विराटनगरसहितका क्षेत्रका कोरोना संक्रमण दर बढ्न सुरु भएसँगै कम जोखिमपूर्ण क्षेत्रहरुमा कांग्रेस नेतृत्व कार्यकर्ता प्रशिक्षण कार्यक्रम लिएर गाउँ प्रवेश गरेको जिल्ला नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान मोरङका संयोजक शिवनारायण सिंहले जानकारी दिए ।

सिंहले भने, “एक हिसाबले पार्टीको महाधिवेशन नै हुने भन्‍ने मिति तय भएको अवस्थामा नयाँ विधान, क्षेत्रगत संरचना, प्रदेश आदि धेरै विषयमा प्रशिक्षण आवश्यक रहेकोले कांग्रेस यो महामारीको जोखिममा पनि प्रशिक्षण कार्यक्रम लिएर कार्यकर्तामाझ पुगेको हो ।” सिंहका अनुसार मोरङका सबै पालिकाहरुमा प्रशिक्षण गर्ने तयारी रहेको छ ।

यही साउन ९ गतेबाट नै कांग्रेसका प्रशिक्षकहरु कार्यक्रम लिएर सम्बन्धित पालिकाहरुमा जान सुरु गरेका छन् । प्रशिक्षण साउन २१ गतेसम्म जारी रहने छ ।

सिंह भन्छन्,“हामीले सामाजिक दूरी कायम गर्दै र गराउँदै प्रशिक्षण गराइरहेका छौं । कार्यकर्ताको उत्साहजन सहभागिता रहेको छ ।” यो प्रशिक्षणबाट प्रशिक्षक उत्पादन गर्ने कांग्रेसले लक्ष्य लिएको छ । तीनै प्रशिक्षकमार्फत फेरि पार्टीका नीति तथा कार्यक्रम, झन्डा, संशोधित विधान र सोहीअनुरुपको सांगठनिक स्वरुपको विषयमा वडास्तरमा समेत प्रशिक्षण दिने तयारी छ ।

मोरङ कांग्रेसको समन्वयमा बुधबार मोरङको लेटाङ नगरपालिकामा प्रशिक्षण आयोजना गरिएको छ । नेपाली कांग्रेसले अहिले कोभिडको समस्याको विषयमा समेत जानकारी गराई रहेको छ । मोरङ कांग्रेसका सभापति तथा प्रशिक्षक डिगबहादुर लिम्बूले प्रशिक्षणमा देशको संविधान, पार्टीको विधान, न्यूनतम आधारभूत सिद्धान्त जस्ता विषयलाई पनि उजागर गर्ने गरिएको बताए । उनले भने,“यो संकटका बेला पनि प्रशिक्षण उत्साहजन रुपमा भएको छ ।”

विराटनगरका केही वडामा भने कोभिड १९ संक्रमणको जोखिम बढेका कारण त्यहाँ भने नगरिने प्रतिष्ठानका संयोजक सिंहले बताएका छन् । अहिले महाधिवेशनको विषयमा धेरै प्रशंग नउठे पनि पार्टीमा भएक कोटा, पद र उम्मेदवारी दिने प्रावधान तथा योग्यता जस्ता विषयमा समेत प्रशिक्षण दिइने गरेको कांग्रेस केन्द्रीय सदस्य तथा प्रशिक्षक डा. डिला संग्रौलाले जानकारी दिइन् ।

उनले भनिन्, “म पनि प्रशिक्षकको नाताले विभिन्न प्रशिक्षणहरुमा सहभागी भईरहेकी छु । महिला सहभागिता पनि उत्साह जनक छ ।” कांग्रेसको आयोजना गरिरहेको प्रशिक्षणमा केन्द्रीय प्रतिष्ठानका सदस्य केशव निरौला प्रमुख प्रशिक्षक रहेका छन् ।

प्रशीक्षणमा इन्द्रा प्रसाईं, प्राध्यापक राम पोखरेल, प्रतिष्ठान मोरङका सचिव इन्द्रमणि थापाले प्रशिक्षण दिइरहेका छन् । कोभिडको विषयमा स्थानीय रुपमा प्रमिला गच्छदार र सूची चौधरीले सहभागीलाई जानकारी गराइरहेको बताइएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्