काठमाडौं, आइतबार, ११ साउन २०७७ । सोमबारबाट फेरि मनसुन सक्रिय हुने जल तथा मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन सक्रिय हुँदा तीन–चार दिनसम्म मुलुकका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षा हुने र बाढीपहिरोको जोखिम बढ्ने भन्दै सर्तक रहन पनि सरकारले सुझाएको छ ।

विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाखाले आइतबार बिहान आगामी तीन दिनको बाढी पूर्वानुमान सार्वजनिक गर्दै मंगलबार कर्णाली, महाकाली र यसका केही साना सहायक नदीमा पानीको सतह बढेर सतर्कताको तह आसपास पुग्ने जनाएको छ । त्यसैगरी, कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई, तिनाउका केही साना सहायक नदीमा आकस्मिक बहाव भई सतर्कताको तह आसपास पुग्न सक्ने विभागको अनुमान छ ।

मंगलबार प्रदेश ५ र सुदूरपश्चिम प्रदेशको नेपाल–भारत सीमा आसपास तराईको भूभागको धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भई साना नदीमा पानीको सतह सतर्कताको तह आसपास पुग्न सक्ने महाशाखाको भनाइ छ ।

मौसम पूर्वानुमान महाशाखाले सोमबार रातिबाट मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहने र अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा भित्रिने सम्भावना देखिएकाले फेरि झरी सुरु हुने जनाएको छ ।

महाशाखाका अनुसार सोमबार रातिबाट ३–४ दिनसम्म नेपालमा मनसुन सक्रिय भई धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुन सक्छ । ती स्थानका नदी र खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने बताइएको छ । साथै ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेतको जोखिम औंल्याउँदै सर्तक रहन विभागले आग्रह गरेको छ ।

आइतबार भने देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार राति प्रदेश १ र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्