काठमाडौँ, बिहिबार, ८ साउन २०७७ । गृह मन्त्रालयले बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा उद्धारका साथै राहत वितरण कार्यलाई थप प्रभावकारी बनाउन निर्देशन दिएको छ । यसका लागि प्रकोपपीडित उद्धार र राहतसम्बन्धी मापदण्ड–२०७७ जारी गरिएको छ । यो मापदण्डले राहत वितरणमा एकद्वार प्रणाली लागू हुने छ ।

विपद् घटनामा परेर कुनै परिवारको एक सदस्यको मृत्यु भएमा दुई लाख, सोही परिवारको अर्को सदस्यको मृत्यु भएमा थप एक लाख गरी तीन लाख रुपियाँसम्म राहतको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । घर, बहाल तथा आवास पूर्ण रूपमा र खाद्यान्न बाली, खेती गरेको जमिन नोक्सानी भएमा पाँच सदस्य भएको परिवारलाई १५ हजार र पाँच जनाभन्दा बढी सदस्य रहेको परिवारलाई २० हजार रुपियाँसम्म राहतको व्यवस्था गरेको छ ।

घर तथा आवास नष्ट भएका परिवारको पुनर्वास वा सुरक्षित आवास निर्माणका लागि जिल्ला विपद् व्यवस्थापन समितिबाट तत्काल एक लाख रुपियाँ उपलब्ध गराउन मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । त्यस्तै बाढीपहिरो पीडितको खोज उद्धार तथा पुनस्र्थापनाका लागि प्रमुख जिल्ला अधिकारीले कम्तीमा २५ जनाको दक्ष जनशक्ति जुनसुकै बेला परिचालन हुन सक्ने गरी तयारी अवस्थामा राख्नुपर्ने व्यवस्था गरेको छ ।

आपत्कालीन खाद्यान्न, लुगाकपडा, भाँडाकुँडाको भण्डारण र खोज उद्धारमा परिचालन हुने जनशक्तिको व्यवस्थापन गर्न निर्देशन दिएको छ । राहत वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बन(ाउन एकद्वार प्रणाली लागू गरिएको छ । गृह प्रवक्ता केदारनाथ शर्माले विपद् व्यवस्थापन, उद्धार, उपचार र पुनस्र्थापनासंँगै राहत वितरण कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन नयाँ मापदण्ड जारी गरिएको स्पष्ट गर्नुभयो ।

सङ्घीय सरकार अन्तर्गत जिल्ला प्रशासन कार्यालयहरूले सो मापदण्ड अनुरूप राहत वितरण गर्ने छन् । त्यस्तै प्रदेश सरकारले मृतकका परिवारलाई ५० हजारदेखि एक लाख रुपियाँसम्म र स्थानीय तहले १० देखि २५ हजार रुपियाँसम्म राहत उपलब्ध गराउन सक्ने छन् । यसका लागि सातवटै प्रदेश सरकारले कुनै निश्चित मापदण्ड भने तयार पारेको छैन ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले उद्धार र उपचारपछि राहतलाई प्राथमिकतामा राखिएको बत(ाउनुभयो । सरकारले जारी गरेको मापदण्डअनुसार तत्काल मृतकका परिवारलाई एक लाख रुपियाँ र घाइतेको निःशुल्क उपचार गरिएको उहाँले स्पष्ट पार्नुभयो । घर तथा आवास क्षति भएकालाई खाद्य, केही नगद र टेन्टसहितको राहत सामग्री प्रदान गरिएको छ । यातायातको सहजता नभएका स्थानमा भरिया लगाएर पनि खाद्यलगायत अन्य राहत सामग्री पु¥याइएको उहाँको भनाइ छ । जिल्लाको अति प्रभावित बाह्रबिसे र भोटेकोसी गाउँपालिकाको विभिन्न वडाका बाढीपहिरो प्रभावितलाई जिल्ला विपद् व्यवस्थापन समितिले तत्कालै आर्थिक सहयोग र राहत वितरण गरिसकेको जानकारी पनि उहाँले दिनुभयो ।

सिन्धुपाल्चोक पहिरोपीडित परिवारलाई बाग्मती प्रदेश सरकारले आवास निर्माणको प्रस्ताव गरेको छ । त्यस्तै बाढी पहिरोबाट अति प्रभावित गण्डकी प्रदेशको गुल्मीको धौलागिरि र मालिका गाउँपालिकाका प्रभावित वडाहरूमा भरिया तथा खच्चरको सहयोगमा खाद्यान्न, टेन्ट, त्रिपाल, लुगाकपडा लगायतका राहत सामग्री ढुवानी गरेर वितरण गरिएको जनाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले जिल्ला विपद् व्यवस्थापन समितिको क्षेत्राधिकारअनुसार मृतक, घाइते र विस्थापित परिवारका लागि उपलब्ध आर्थिक तथा अन्य राहत वितरण गरिसकेको बताउनुभयो । बेपत्ताको सम्बन्धमा भने कुनै निर्णय हुन सकेको छैन । तनहुँ र कास्कीमा पहिरोपीडित परिवारलाई स्थानीय, प्रदेश सरकार र जिल्ला विपद् व्यवस्थापन समितिबाट १० हजारदेखि एक लाख रुपियाँसम्म राहत वितरण भएको छ । तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीका अनुसार उद्धारसँंगै राहत वितरण जारी छ । गोरखापत्र

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्