तस्विर : साकेंतिक

काठमाडौँ, बुधबार, ७ साउन २०७७ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको पहिलो विदेशी नागरिकको मृत्यु भएको छ ।

काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना हुनुभएकी ४९ वर्षीया चिनियाँ नागरिकको मृत्यु भएको हो ।

त्रिवि शिक्षण अस्पतालका निमित्त प्रशासन प्रमुख माधव प्रसाद घिमिरेले मंगलबार त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएकी उहाँको आज बिहान छ बजेर १५ मिनेटमा मृत्यु भएको हो । पोखरामा बस्दै आएकी उहाँको स्वास्थ्यमा समस्या आएपछि ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उहाँको स्वाब परीक्षण गर्दा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएपछि थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको थियो ।

अस्पताल प्रशासनका निमित्त प्रमुख माधव प्रसाद घिमिरेका अनुसार मृतक चिनियाँ नागरिकको शव व्यवस्थापनको कार्य भइरहेको छ । उहाँले भन्नुभयो, “मंगलबार त्रिवि अस्पताल भर्ना हुनुभएकी उहाँ एक्युट कोरोनरी सिन्ड्रम विथ सेग्मेन्ट एलिभेशनबाट पीडित हुनुहुन्थ्यो ।” सम्बन्धित निकायबाट तीन देखि चार दिन लाग्ने हुनाले तात्कालका लागि शवलाई अस्पतालमै व्यवस्थित गरेर राखिएको घिमिरेले प्रष्ट्याउनुभयो । नेपालमा हालसम्म कोभिड–१९ बाट ४२ जनाको मृत्यु भएको छ ।

यसअघि जनकपुरधाम उपमहानगरपालिका बस्ने एक ६० वर्षीय पुरुषको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार नै निधन भएको थियो । साउन २ गते भर्ना हुनुभएको उहाँको स्वाबको नमूना सङ्कलन गरी परीक्षण गर्दा कोभिड–१९ को पुष्टि भएको थियो । उहाँको भेन्टिलेटरमा राखेर उपचार गरिरहँदा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज त्रिवि अस्पतालमा मृत्यु भएका चिनियाँ नागरिक भने कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुने पहिलो विदेशी नागरिक हुनुहुन्छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्