गोरखा, बुधबार, १० असार २०७७ । सदरमुकामभन्दा बाहिर पहिलो पटक गण्डकी गाउँपालिकामा आइसोलेशन तयार भएको छ । गण्डकी गाउँपालिका १ मकैसिङ प्राथमिक स्वास्थ्यकेन्द्रमा १० वेडको आइसोलेसन तयार भएको हो ।
मंगलवार कोरोना संक्रमण पुष्टि भएका चारजनालाई गाउँपालिकाको मकैसिंङ प्राथमिक स्वास्थ्य केन्द्रमा तयार गरिएको आइसोलेसनमा राख्ने गाउँपालिकाका अध्यक्ष होमबहादुर रानाले बताउनु भयो । ‘बर्खाको बेला थियो, ग्रामीण सडक भएकाले आइसोलेसनको सामग्री ढुवानी गर्न अझै केही समय लाग्यो’, अध्यक्षलेभन्नुभयो , ‘हामीले स्वास्थ्य केन्द्रमा भएको पूर्वाधारलाई ब्यवस्थित गरेर आइसोलेसन तयार गरेका छौँ ।’ यसअघि गाउँपालिकाभित्र संक्रमण पुष्टि भएकालाई गोरखा अस्पताल र गोरखा क्याम्पसको आइसोलेसनमा राखेर उपचार गरिएको थियो ।
‘अब १० जना सम्म हामी प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा राख्न सक्छौँ’ अध्यक्ष रानाले भन्नुभयो । प्राथमिक स्वास्थ्य केन्द्रबाट दिइने अन्य सेवा प्रभावित नहुने गरी आइसोलेसन ब्यवस्थित गरिएको छ । गाउँपालिकाको अन्य संस्थाका स्वास्थ्यकर्मीलाई आइसोलेसन ब्यवस्थापन, उपचारका लागि झिकाउने उहाँले बताउनु भयो । जेठ २६ गते गोरखा सदरमुकाममा सम्पन्न पालिका प्रमुख, जिल्लाका सुरक्षा प्रमुख सहितको बैठकले १६५ बेड क्षमताको आईसोलेसन निर्माण गर्ने निणर्य गरेको थियो । जसमध्ये गोरखा अस्पतालमा २५ वेड सबैभन्दा पहिले तयार भएको थियो । अस्पतालको आइसोलेसनबाट संक्रमितले सेवा लिइरहेका छन् ।
नगरपालिका क्षेत्र भित्र गोरखा क्याम्पसमा ७० बेड बाहेक अन्यत्र आइसोलेसन बन्न सकेको छैन । नगरपालिका भित्र ३० बेड तयार हुन बाँकी छ भने आरुघाट प्राथमिक स्वास्थ्य केन्द्र, सिरानचोक गाउँपालिकाको जौवारी प्राथमिक स्वास्थ्य केन्द्रमा १०/१० वेड तयार हुन बाँकी छ । पालुङटार नगरपालिकाको आँपपिपल अस्पतालमा १० वेडको आइसोलेसन बनाउने निणर्य भएपछि तयार भएको छैन ।








































