काठमाडौँ, २३ जेठ २०७७ । कोरोनाका कारण संयुक्त अरब इमिरेट्स(यूएई)मा अलपत्र १५७ जना नेपाल आइपुगेका छन् । सारजाह विमानस्थलबाट आएको एयर अरेवियाको जी ९ १७५१ नम्बरको विमान शुक्रबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
उनीहरुमध्य नौ जना गोरखाका रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार पाँच जना गोरखा नगरपालिकाका रहेका छन् । त्यस्तै गण्डकी गाउँपालिकाका दुई जना, पालुङटार नगरपालिकाका एक जना र भीमसेनथापा गाउँपालिकाका एकजना रहेका छन् ।
उनीहरुलाई राजधानीको होल्डिङ सेण्टरमा राखेर स्वास्थ्य परीक्षण गरेपछि मात्र गोरखा ल्याउने कार्यालयले जनाएको छ ।
उनीहरुलाई आआफ्नै गाउँपालिकाले समन्वय गरेर लैजाने र होम क्वारेण्टाइनमा राख्ने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । पिसिआर परीक्षण गरेर आएकाहरुलाई गाउँपालिकाले व्यवस्थापन गर्ने केन्द्रीय नीति रहेको उनले बताए ।
यूएईबाट कम्तिमा १८ हजार जना नेपाली स्वदेश फर्कन चाहेको त्यहाँस्थित नेपाली दूतावासको भनाइ छ ।
शुक्रबारै म्यानमारबाट पनि २६ जना नेपालीको उद्धार भएको छ । उनीहरुलाई लिएर म्यानमारको सेनाको विशेष विमान काठमाडौं आएको थियो । म्यानमारबाट आएकालाई वसुन्धारास्थित यती पार्टी प्यालेसको होल्डिङ सेन्टरमा राखिएको थियो । उनीहरुलाई होम क्वारेन्टिनमा राख्ने गरी पठाउने कार्य भइरहेको छ ।








































